विपीन जोशीलाई छुटाउन कतारसँग नेपालको फेरि आग्रह

काठमाण्डाै । हमासले बन्धक बनाएका भनिएका कञ्चनपुरका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ । हिजोदेखि शुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको हो।

परराष्ट्रमन्त्री साउदले जोशीको छिटोभन्दा छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेको र कतारी राज्यमन्त्री खुलाइफीले जोशीको रिहाइका लागि लगातार रुपमा लागिरहेको जवाफ दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Advertisement

हमाससँग कतारसँगको सम्बन्ध राम्रो रहेकाले नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन पटकपटक आग्रह गर्दै आएको छ । अघिल्लो हप्ता पनि परराष्ट्रमन्त्री साउदले कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भेट गरी जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गर्नुभएको थियो।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः शुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास भइरहेको जवाफ दिनुभएको थियो।

कतार जानुअघि पनि परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गर्नुभएको थियो । रिहाइका लागि सरकारले पटकपटक आग्रह गरे पनि जोशीको अवस्था अझै थाहा हुन सकेको छैन ।

इजरायल–हमासबीच यसअघि भएको अस्थायी युद्धविराममा केही बन्दी छाडिए पनि जोशीको रिहाइ भएन । सरकारले आश्वासन मात्रै दिएको भन्दै जोशीका परिवार चिन्तित छन् ।

More News last news
Loading...