तीन वटै सुरक्षा निकायले गरे कुकुर पूजा

काठमाडौं । आज तिहारको दोस्रो दिन अर्थात कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको वाहन पनि भनिन्छ ।

Advertisement

त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराएर पूर्वसूचना समेत दिने गरेको छ । कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन्।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले आफ्ना तालिमप्राप्त कुकुरहरुलाई पूजा गरी मनाएका छन् । साथै नेपालीहरुले आफ्नो आफ्नो घरमा कुकुरको पूजा गरी टीका र माला लगाइ दिएर खानेकुरा दिइ पूजा गरेका छन्।

More News last news
Loading...