काठमाडौं l सरकारले दशैंलाई ल्याएको च्याङ्ग्रा र खसीबोका नबिकेपछि तिहार अफरमा बेच्नेगरी पत्रिकामा विज्ञापन नै छाप्नु परेको छ। दशैंअघि ल्याएको च्याङ्ग्रा आधाजसो नै बाँकी भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजका पत्रपत्रिकामा तिहार अफरमा बेच्ने गरी विज्ञापन गरेको हो। कम्पनीका अनुसार आजदेखि जिउँदो च्याङ्ग्रा ११ सय ५० र खसिबोका ५ सय ९० रुपैयाँ किलोमा बिक्री गरिनेछ।
खरिद गर्ने उपभोक्तालाई निःशुल्क घरसम्मै पुर्याइदिने व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ। सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट खसिबोका र च्याङ्ग्रा बिक्री भइरहेको छ।
कम्पनीले दशैंलाई लक्षित गरी ५ सय ४२ वटा च्याङ्ग्रा काठमाडौं ल्याएको थियो । त्यसमध्ये अझै २ सयभन्दा बढी च्याङ्ग्रा बिक्री हुन बाँकी रहेको सूचना अधिकारी सुवेदीले बताइन्। ‘दशैं सकिएपछि २ सय ७० वटा च्याङ्ग्रा बाँकी थियो’, उनले भनिन्, ‘त्यसपछि पनि फाट्टफुट्ट बिक्री भइरहेको छ। तर अझै २ सयभन्दा धेरै नै बाँकी छ।’
च्याङ्ग्रा लामो समय पाल्नुपर्दा दानापानी, हेरचाह र औषधि उपचारमा थप खर्च गर्नु परिरहेको उनको भनाइ छ। यसअघि ल्याएका खसिबोका र च्याङ्ग्रा दशैंअघि नै सबै बिक्री भइसक्थ्यो। यसपटक खसीबोका भने केही मात्र बाँकी रहेको सुवेदीको भनाइ छ। कम्पनीले दशैंलाई लक्षित गरी १६ सय ६० वटा खसिबोका ल्याएको थियो। लक्ष्मीपूजाको दिन विहानसम्म पनि च्याङ्ग्रा र खसिबोकाको बिक्री जारी राखिने सूचना अधिकारी सुवेदीले जानकारी दिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
