बागमती सरकार र महानगर मिलेर गौतमबुद्ध रंगशाला निर्माण तत्काल थाल्ने

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज मङ्गलवार बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।

Advertisement

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो ।

भरतपुर महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्यारापिटको एक तहमाथि प्यारापिट निर्माण गरिने छ । मैदानको आकार मात्रै बनेको भन्दै उहाँले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिनुभयो । खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुने उहाँले बताउनुभयो ।

रङ्गशाला निर्माणमा अहिलेसम्म फाउन्डेशनले ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ रुपैयाँ खर्च भएको जनाएको छ । त्यसमध्ये १८ करोड ४३ लाख रुपैयाँ ऋण छ । फाउन्डेशनले बक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो ।

More News last news
Loading...