काठमाडौं । दशैं लगत्तै व्यापारीहरुले ब्रोइलर कुखुराको बिक्री मूल्य घटाएका छन् । कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले घटाएको हो ।
यहि १२ गतेयताको ९ दिनमा ५० रुपैयाँले प्रतिकिलो मूल्य घटेको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । उनका अनुसार, बजारमा उत्पादन धेरै र खपत कम भएपछि मूल्य घटेको हो ।
संघले १२ कात्तिकमा प्रतिकिलो मूल्य २८० रुपैयाँबाट घटाएर २७० रुपैयाँ तोकेको थियो । त्यसको २ दिनपछि १४ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले मूल्य घटाएर २६० रुपैयाँ कायम गर्यो । १६ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले घटेको मूल्य १९ कात्तिकमा २५० बाट घटेर २४० रुपैयाँमा आइपुगेको थियो । यस्तै सोमबार २० कात्तिकमा संघले पुनः प्रतिकिलो मूल्य १० रुपैयाँले घटाएर २३० रुपैयाँ तोकेको छ ।
सो मूल्य २१ कात्तिकको बिहानदेखि लागू हुने छ । जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमै ५० रुपैयाँले घटेपछि अब तयारी मासुको बजार मूल्य प्रतिकिलो ३२० रुपैयाँसम्म पर्ने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
