पर्यटनमा प्रवर्द्धनका लागि प्रमुख सहरमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न

गण्डकी । होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा गरिएको ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटनको वृद्धिमा जोड दिँदै सकिएको छ । यही कात्तिक १६ गतेदेखि सुुरु गरिएको पाँच दिने अभियानमा पूर्वी नेपालका बर्दिबास, जनकपुर, विराटनगर, इटहरी, बिर्तामोड, धनकुटा, चितवनलगायतका प्रमुख सहर समेटिएको थियो।

सूर्योदयको स्थल भनेर चिनिने पूर्वी नेपालको इलामबाट २० वर्षअघि सुरु गरिएको अभियानलाई त्यस यता निरन्तरता दिँदै आइएको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको अभियानको प्रभाव सकारात्मक बन्दै गएको र यसले देशैभरि नेपालीमा घुम्ने बानीको विकासमा टेवा पुर्याएको उनले बताए।

Advertisement

अभियान सुरु गर्दा घुम्न निस्कने नेपाली एक प्रतिशत रहेकोमा अहिले उक्त दर ३५ प्रतिशत पुगेको उनको भनाइ छ । पूर्वी नेपालमा सञ्चालित कार्यक्रमले पोखरा र पूर्वी नेपालबीच पर्यटकीय साझेदारी बढ्ने विश्वास लिइएको उनले बताए । आन्तरिक पर्यटनको विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ गरिएको कार्यकमले आन्तरिक पर्यटनको आगमनमा वृद्धि हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

आन्तरिक पर्यटनको चहलपहल बढाउन राज्यका तर्फबाट पर्यटनमैत्री नीतिसँगै सडकलगायतका पूर्वाधार, प्रभावकारी सडक तथा हवाई सञ्जालको विकासमा ध्यान दिनुपर्ने उनले बताए । कार्यक्रमका क्रममा विभिन्न स्थानमा गरिएका छलफल एवं अन्तक्रियामा आन्तरिक पर्यटनको विकासका लागि सडक तथा हवाई सञ्जाल प्रभावकारी बन्नुुपर्ने, राज्यको पर्यटनमैत्री नीति तथा व्यवहार हुनुपर्ने, भारतीय नोट नचल्दा भारतीय पर्यटक आगमनमा परिरहेको असरको अन्त्य गर्नुुपर्नेलगायतका विषयमा व्यवसायीले भनाइ राखेका थिए ।

सङ्घका अध्यक्ष सुवेदी नेतृत्वको टोलीमा होटेल सङ्घ पोखराका सल्लाहकारद्वय विप्लव पौडेल, भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठ पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष रामकाजी गुरुङलगायत पर्यटन व्यवसायी, जनप्रतिनिधि र सञ्चारकर्मीसहित २० जनाभन्दा बढी सहभागी थिए ।

More News last news
Loading...