कोशीका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश

काठमाण्डाै । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने परमादेश जारी गरेको छ । सर्वोच्चको पूर्ण इजलासले थापालाई पदमुक्त गरेर सबैभन्दा ठूलो दलको हिसाबले नेकपा एमालेका हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश दिएको छ।

आज बिहीवार न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो।

Advertisement

यसअघि पनि सभामुख बाबुराम गौतमको मतसहित विश्वासको मत लिएका थापालाई सर्वोच्चले नै पदमुक्त गरेको थियो । दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले यही भदौको ४ गते सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत मत दिएपछि विश्वासको मत पाउनुभएको थियो । तर सभाध्यक्षकै मतको प्रयोग गरेर विश्वासको मत लिनु संविधान र कानुन विपरीत भएको भन्दै भन्दै एमालेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दिनुभएको थियो ।

आज विश्वासको मत बदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गरेर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन भनेको छ। कोशी प्रदेशमा बहुमतका लागि ४७ जना चाहिनेमा सत्ता गठबन्धन र एमालेको गठबन्धन दुवैसँग बहुमत नहुँदा खिचातानी भइरहेको छ।

सत्तापक्षले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने बाटो समातेको थियो तर एमाले र राप्रपाले उपसभामुख र ज्येष्ठ सदस्यहरूलाई बैठकमा अनुपस्थित गराएर सत्तापक्षकै सांसदलाई सभाध्यक्ष बनाउनैपर्ने बाध्यता सिर्जना गरेका थिए।

More News last news
Loading...