भैरहवाबाट हङकङ र नयाँ दिल्लीको पहिलो उडान रित्तै

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान शुरु गरेको छ । मलेसियाको क्वालालाम्पुरबाट आएको निगमको जहाज मंगलबार भैरहवा अवतरण गरेको थियो ।

यसै जहाजले हङकङ र नयाँ दिल्ली जान टिकट काटेका यात्रुलाई काठमाडौं ल्याउने र काठमाडौं ट्रान्जिट गराई सम्बन्धित गन्तव्य लैजाने निगमको योजना छ। आइतबारदेखि मात्र टिकट बुकिङ खुला गरेका कारण मंगलबारको उडानमा भैरहवाबाट यी दुवै गन्तव्यमा जाने यात्रु कोही नचढेको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन्।

Advertisement

भैरहवाबाट काठमाडौं आउँदा क्वालालाम्पुरबाट काठमाडौं आउन चढेका यात्रु मात्र सो जहाजमा आएका थिए । निगमले हरेक मंगलबार भैरहवाबाट हङकङ र नयाँ दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर ट्रान्जिट गराई ती गन्तव्यमा जाने यात्रुलाई लैजाने योजना बनाएको छ ।

यस योजना अनुसार यात्रुले भैरहवाबाटै हङकङ वा नयाँ दिल्लीसम्मको बोर्डिङ पास पाउँछन् । ब्यागेज समेत सम्बन्धित गन्तव्यमै पुग्ने भएकाले काठमाडौंमा उनीहरुले थप प्रक्रिया भने पार गर्नु पर्दैन ।

निगमको उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्ने छ। ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ ।

More News last news
Loading...