काठमाडौं l स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तकमा क्रिक्रेटर सन्दिप लामिछाने र विवेकशील नेपाली समूहका संस्थापक अध्यक्ष स्व. उज्जल थापाको जीवनी समावेश गरेको छ ।
गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अन्तर्गत कक्षा ४ को पुस्तकमा लामिछाने र ५ को पुस्तकमा थापाको जीवनी समावेश गरेको हो । स्थानीय पाठ्यक्रम अन्तर्गत गाउँपालिकाबाट देश तथा विदेशमा चिनिएकाहरुको बारेमा अध्ययन गराउने उद्देश्यले पाठ्यपुस्तकमा समावेश गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
आगामी दिनमा पनि गाउँपालिकाभित्रका अन्य जीवनी पढाउनुपर्ने व्यक्तिहरुको खोजी गरी पाठ्यक्रममा समावेश गरिने योजना रहेको तिवारीले बताए । विश्वप्रसिद्व क्रिक्रेटर लामिछानेको जन्म अर्जुनचौपारी गाउँपालिका वडा नं ५ मा भएको हो भने, नेता थापाको जन्म सोही गाउँपालिकाको वडा नं ६ मा भएको हो ।
पुस्तकमा उनीहरुको जीवनीका साथै उनीहरुले गरेका राम्रा र उदाहरणीय कार्यहरुको चर्चा गरिएको छ । छोटो समयमै राजनीतिमा उदाएका ३३ बर्षीय अध्यक्ष तिवारीले गाउँपालिकामा नयाँ केही गरेर आम जनताको मन जितिरहेका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
