महासमिति बैठकमा हिन्दुराष्ट्र र संघीयता खारेजीको मुद्दा लिएर जान्छु : कांग्रेस नेता

 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले सुन तस्करीका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउँदा कुनै आपत्ति नभएको बताएका छन् ।

‘एमाले प्रतिपक्षमा छ । उसले आफ्नो धारणा राख्छ । उसले के भन्यो भन्दा पनि सरकारले आर्थिक सुशासन दिन चाहिरहेको छ । सुन तस्करीका घटनाका अपराधीलाई आजको भोलि नै कानुनी दायरामा ल्याउन सकिन्छ भनेर (उच्चस्तरीय छानबिन समिति) बनाउँदा के फरक पर्छ ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा उनले भने।

Advertisement

नेता भण्डारीले आगामी महासमिति बैठकमा आफू हिन्दुराष्ट्र र संघीयता खारेजीको मुद्दा लिएर जाने पनि बताए । उनले भने, ‘हामीले अघिल्लो महासमितिको बैठकमा पनि हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर बुझाएका हौं । तर हाम्रो नेतृत्वले महत्त्व नदिएकाले ओझेलमा पर् यो । हाम्रा नेता, कार्यकर्ता र शुभचिन्तकको शासकीय प्रणालीमा व्यापक असन्तुष्टि छ । संघीयतामा पुनर्विचार गर्नुपर्छ । अहिलेको निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ ।’

पार्टी सभापति शेरबहादुर देउवाले यसबारे बोल्न नसक्नु दुःखद भएको भण्डारीले बताए । उनले भने, ‘आदरणीय सभापतिजी, के कति कारणले बोल्न सकिरहनुभएको छैन, त्यो उहाँको कुरा हो । तर यो कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरुको कुरा हो । केही न कामका आल्तुफाल्तु कुरामा लागेर कांग्रेस पार्टीले आफ्नो हैसियत बनाउन सक्दैन । पार्टी कमजोर भएर जान्छ ।’

कोसी प्रदेशको दृष्टान्तबाट पनि नेपालमा संघीय प्रणाली अनुपयक्त, असफल र अफापसिद्ध भइसकेको टिप्पणी भण्डारीले गरे । उनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएर प्रदेश खारेजी गर्नु उपयुक्त हुने देखिएको उनले औंल्याए । सम्मानित अदालतले कांग्रेस नेतृत्वको सरकारलाई वैधानिकता नदिएपछि कानुनी र संवैधानिक विकल्प मध्यावधि निर्वाचन नै भएको भण्डारीको तर्क छ।

More News last news
Loading...