पोखरामा ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन

पोखरा । आधुनिक पोखराका अभियन्ता रुद्रबहादुर कार्कीको ९९ औं जन्मदिन अवसरमा ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गरिएको छ । पोखरामा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले सो स्मृतिग्रन्थ विमोचन गरेका हुन् ।

‘अंशको कुरा वंशलाई जातको कुरा भताहलाई’ जस्तै आफूले २०१८ सालदेखिको पोखरा र यहाँका रैथानेलाई नियाल्न पाएको स्मरण गर्दै उनले कार्कीले दिएको योगदानको चर्चा गरे । उनले भने, ‘आजको पोखराको जग रुद्रबहादुर कार्कीले २० को दशकमै कोरेका कारण पोखरा सहरोन्मुख भएको हो ।

Advertisement

समारोहमा शिक्षासेवी जोर्ज जोन, डा. अनिल सुवेदी, विश्वमोहन गौचन, बद्रविनोद प्रतीक, हरिदेवी कोइरालाले कार्कीसँगको संगत र व्यक्तित्वमाथि पोखराका लागि कार्की गर्व गर्नलायक र अनुकरणीय व्यक्तित्व भएको बताए । वक्ताहरूले तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र पदमबहादुर खत्रीले जस्तै पोखरालाई पोखरा बनाउन १८ जना प्रधानपञ्च मध्ये कार्कीले उल्लेखनीय भूमिका खेलको स्मरण गरे।

आलेखहरूको समीक्षा गर्दै प्रा.डा. ज्ञानबहादुर कार्कीले तत्कालीन पोखराको बाटो चाक्लो बनाउने, नयाँशिक्षा लागु गर्ने, कृषि उत्पादन बढाउन रवी बाली लगाउने, हेरालो र काञ्जी हाउसको व्यवस्था गर्ने, खानेपानीका धारा जोड्ने, खोला नियन्त्रण र बाँध बनाउने, प्रशासनिक संरचना बनाउने, अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क लगायत विकास निर्माणका कामको खाका तयार गर्ने, आधुनिक पोखराको जग हाल्ने काममा कार्कीले विशिष्ट योगदान दिएको चर्चा गरे ।

रुद्रबहादुर कार्की स्मृतिग्रन्थ प्रकाशन समितिद्वारा आयोजित कार्यक्रममा २०२८ देखि २०३१ सम्म पोखरा नगर पञ्चायतका प्रधानपञ्च भएका कार्कीको राजनीतिक जीवन, उनले आधुनिक पोखरा बनाउन गरेको पहल र विकासका क्षेत्रमा पु-याएको योगदानसम्बन्धी लेखिएका आलेख, अभिलेख र संस्मरणहरू समावेश गरिएको छ ।

स्मृतिग्रन्थको सम्पादन प्रा.डा. कृष्ण केसी, प्रा. डा. दिलबहादुर क्षत्री र उपप्राध्यापक सुरेश रानाभाटले गरेका थिए भने आवरण विम्बकवि प्राज्ञ रमेश श्रेष्ठले तयार गरेका थिए । १९८१ असार २९ मा जन्मिएका कार्कीका २०७८ चैत्र ७ मा निधन भएको स्मृतिग्रन्थ प्रकाशन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताए । कार्यक्रम सञ्चालन दीपेन्द्र श्रेष्ठले गरेका थिए ।

More News last news
Loading...