सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आज (असार ३१ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

Advertisement

सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिनेछ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

इन्स्योरेन्सले कुल निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

More News last news
Loading...