प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ रहरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

Advertisement

त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गर्नेछ। बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

हाथवे इन्भेष्टमेन्टले नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ। नेपालका ख्याती प्राप्त युवा व्यवसायी, यद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समूहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरुमा आफ्नो लगानी गरी आफुलाई एक सफल कम्पनीको रुपमा उभ्याउन सफल भएको छ। कम्पनीले पूँजीबजारका अतिरिक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वःपूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको आर्थिक विकासमा योजना पुर्याउँदै आएको छ।

कम्पनीको संस्थापक शेयरधनीहरुमा आइएमई ग्रुप अफ कम्पनीका सह संस्थापक तथा प्रबन्ध निर्देशक, हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, निमिष इन्भेष्टमेन्ट, अलका इन्भेष्टमेन्टका सञ्चालक तथा अध्यक्ष कुमार पौडेल, सुमित प्रधान, नेपाल विद्युत प्राधिकरणमा सहायक प्रबन्धकको रुपमा कार्यरत सुशिल अर्याल लगायतका १५ जना रहेका छन्। कम्पनीका अध्यक्ष योगेश्वर शर्मा रहेका छन् भने अन्य सञ्चालकमा सुरज कुमार श्रेष्ठ, कुमार पौडेल र जयराम नेपाल रहेका छन्।

More News last news
Loading...