दुवै सदनबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पारित

काठमाण्डाै । सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ। राष्ट्रियसभाको आज बिहीवारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको हो।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यसअघि विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो।

Advertisement

प्रतिनिधिसभाबाट यही असार १३ गते आउँदाे आर्थिक वर्षकाे बजेट पारित भएको थियो । गएको जेठ १५ गते अर्थमन्त्री महतले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २० प्रतिशत र पुँजीगत अर्थात् विकास बजेटतर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् ७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आउँदाे साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । राष्ट्रियसभाको अर्को बैठक आजै १३ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

More News last news
Loading...