वैदेशिक रोजगारमा गएका नवलपुरका २८ जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् ।

वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । ज्यान गुमाउनेमा देवचुलीका सात, कावासोतीका ६, मध्यविन्दुका ६, गैँडाकोटका चार, विनयी त्रिवेणीका तीन र हुप्सेकोटका एक जना छन् ।

Advertisement

अत्यधिक समय काम गर्ने, भनेजस्तो नहुँदा तनावमा काम गर्नेलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको कार्यक्रमका परामर्शदाता रञ्जना लम्सालले बताए । अत्यधिक रकम खर्चेर विदेश जाँदा धेरै आम्दानी गर्ने दबाबका कारण लगातार काम गर्दा कतिपय घटना हुने गरेको उनले बताए।

संयोजक सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगारसम्बन्धी नवलपुरमा एक सय ८८ मुद्दा दर्ता भएका छन् । तथ्याङ्कानुसार ठगीमा पर्नेको सङ्ख्या सबैभन्दा बढी छ । एक सय ८८ मध्ये एक सय १८ मुद्दा ठगीसम्बन्धी रहेका छन् । उद्धारसम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका १० मुद्दा १० छन् ।

सुरक्षित आप्रवासन कार्यक्रममार्फत दर्ता भएकामध्ये ८१ मुद्दाको समाधान गरिएको र यसबाट पीडितलाई तीन करोड २० लाख ६० हजार क्षतिपूर्ति उपलब्ध गराइएको संयोजक सोतीले बताए। जिल्लामा सञ्चालित कार्यक्रममार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको छ ।

More News last news
Loading...