पाेखरा । पाेखरा महानगरपालिकाले पोखरा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पोखराकाे पृथ्वीचोकदेखि कोत्रेसम्मको पृथ्वी राजमार्गको सडककाे दायाँ बायाँ मापदण्ड मिचेर बनाइएका संरचना हटाउने काम थालेको छ । महानगरले पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुरसम्मको क्षेत्र खाली गराउने काम थालेको हो ।
मापदण्डभित्र रहेका संरचना हटाइएको छ भने लामो समयदेखि ‘डम्प’ गरेर राखिएका पुराना गाडी तथा ग्यारेजसमेत विस्थापित गरिएको छ । आफ्नाे आग्रहलाई हटेर गरेपछि महानगरले केही गाडी नियन्त्रणमा लिएकाे छ।
यो राजमार्ग एसियाली विकास बैंक (एडीबी) को सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ । सडकको बीच भागबाट २३/२३ मिटर दायाँ–बायाँका संरचनामा डोजर लगाएको महानगरका मेयर धनराज आचार्यले बताउनुभयाे ।
महानगरले पटक–पटक सडकको ‘राइट अफ वे’ खाली गर्न सूचना दिएको थियो । सडक मापदण्डभित्र पर्ने स्थायी संरचना भने मुआब्जा वितरणपछि भत्काउन थालिनेछ । आयोजनाअन्तर्गत पोखरा महानगरभित्र एक सय ७० वटा घर भत्काउनुपर्नेछ । जसमा अहिलेसम्म एक सय १२ वटा घर एवम् भौतिक संरचनाको मुआब्जा वितरण सकिएको छ ।
सेती नदीमा अहिले भएको पुलभन्दा माथि र तल दुई/दुई लेनको दुई वटा पुल बनाउन एक अर्ब सात करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्शनले ठेक्का पाएको छ । सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा चार वटा ठूला र १२ वटा साना पुल बन्नेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
