पोखरा । नेपाल घुम्न आउने चिनियाँ नागरिकको सुविधाका लागि च्याट डिजिटल पे मेन्ट ‘विपे’ शुभारम्भ गरिएको छ । पर्यटकीय नगरी पोखरामा बिहीबार आयोजित समारोहमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले क्युआर कोड स्क्यान गरी उक्त सेवाको शुभारम्भ गरे ।
टेन्सन्ट होल्डिङ्सको सहकार्यमा एनएमबि बैंकद्वारा सुरुआत भएको यो सेवा विशेषगरी नेपाल घुम्न आउने चिनियाँ नागरिकको खल्तीमा पैसा सकिए पनि डिजिटल पेमार्फत भुक्तानी गर्न सक्ने छन् । योबाट सिधैँ चीनको बैंकदेखि नेपालको एनएमबि बैंकसँग कारोबार हुन्छ । यो डिजिटल प्लेटफर्म हो । जसले क्यासलेस कारोबार गर्न सहयोग गर्छ । पहिलो पल्ट एनएमबि बैंकले नेपाल राष्ट्र बैंकसँगको स्वीकृतिमा नेपालमा यो सुविधा भित्राएको हो । नेपालमा इसेवा, खल्ती जस्तै विच्याट पे चीनमा बढी लोकप्रिय मानिन्छ ।
कारोबार सुरक्षित रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको दाबी छ । यसबाट चिनियाँ नागरिकलाई लाभ मिल्ने उनले बताए ।
सेवा शुभारम्भ समारोहमा बोल्दै चिनियाँ राजदूत चेन सोङले यसबाट आफ्ना नागरिकको लागि सहयोग मिल्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले यो सेवा डिजिटल बैंकिङमा एक फड्को भएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, एनएमबि बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, बैंकका गण्डकी प्रदेश प्रमुख दुर्गाराज पुरी, कर्मचारी साइसा कार्कीले बोलेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
