पोखरा । लेखनाथ हाफ म्याराथन–२०८० को उपाधि रामजी बस्नेतले जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् ।
कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको म्याराथनमा मोहनदेव जोशी द्वितीय र अनिष गुरूङ तृतीय भए । जोशीले १ घण्टा १४ मिनेट २ सेकेण्ड र गुरूङले १ घण्टा १८ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेको रेस डाइरेक्टर सिद्धान्त अधिकारीले जानकारी दिए ।
महिला १० किलोमिटर दौडतर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, आशा राउत द्वितीय र सुमित्रा चौधरी तृतीय भए । न्यौपानेले १ घण्टा ६ मिनेट ३७ सेकेण्ड, राउतले १ घण्टा ७ मिनेट २१ सेकेण्ड र चौधरीले १ घण्टा ८ मिनेट १६ सेकेण्डमा दूरी पूरा गरेको आयोजकले जनाएको छ । म्याराथन र महिला १० किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँको साथमा मेडल र प्रमाण–पत्र पाएका छन् ।
हाफ म्याराथनमा प्रथम, द्वितीय र तृतीय भएकालाई लेखनाथ उद्योग वाणिज्य संघले पुरस्कारमा १०–१० हजार रूपैयाँ प्रोत्साहनबापत दिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
५ किलोमिटर छात्रा विधामा नारायणी भण्डारी प्रथम भइन् । उनले २४ मिनेट ५० सेकेण्डमा दूरी पार गरिन् । मेनुका अधिकारी र एञ्जल अधिकारी क्रमश : २५ मिनेट ३८ सेकेण्ड र २६ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै द्वितीय र तृतीय भए।
छात्रतर्फ १७ मिनेट ४० सेकेण्डमा ५ किलोमिटर दूरी पार गरेर तेन्जोन रोका प्रथम भए । विवेक परियार १७ मिनेट ५० सेकेण्डमा र सुनिल बिक १७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गरेर क्रमशः द्वितीय र तृतीय भए । पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय भएका छात्र–छात्राले १५ हजार, १० हजार र पाँच हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन् ।
धावक चेतनाथ चालिसे पोखरा च्याम्पियन घोषित भए । उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चालिसेले पोखरा च्याम्पियन उपाधि हात पारेका हुन् । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३१ मिनेट ४५ सेकेण्डमा पूरा गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
