काठमाडौं । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन । विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो ।
त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् । केही समय अगाडि मात्र काठमाडौंमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो । सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाडौँदेखि पोखरासम्म छायाङ्कन गरे ।
नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताए । ‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ । उनीहरूको काम गर्ने शैली परिपक्व छ । ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ’, संयोजक रेग्मीले भने ।
उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपालमा छायाङ्कन व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायाङ्कनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन् ।
शुक्रबार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायाङ्कनको लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ । व्यवस्थापक आचार्यका अनुसार उक्त चलचित्रको छायाङ्कन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भईरहेको छ ।
‘मुस्ताङमा छायाङ्कन गर्ने तय भएको छ । यहाँ बीस दिन छायाङ्कन गर्ने उनीहरुको योजना छ । यसले नेपालको पर्यटन प्रवद्र्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ’, उनले भने ।
सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शङ्कर पाण्डेले बताए । “विशेषत छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ”, पाण्डेले भने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
