दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन सुरु

दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान आयोजनामा तनहुँ सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुईदिने राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ ।
‘भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मुल नारासहित सुरु भएको सम्मेलनको पहिलो दिन साहित्यकार सरुभक्तको प्रमुुुुख आतिथ्यतामा भएको कार्यक्रममा ९ जना कवि पुरस्कृत भएका छन् । मुलकभरिबाट प्राप्त २ सय ३७ कविताबाट निर्णायक मण्डलले पुरस्कृत कविता छनोट गरेको हो ।

प्रतियोगितामा सिराहाका कवि अविनाश भट्टराई पहिलो, संखुवासभाका कवि सिजन श्रेष्ठ दोस्रो, झापाका कवि केशव भट्राई तेस्रो भए । उनीहरुलाई क्रमशः ५५ हजार, ४० हजार र २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरियो।

Advertisement

अन्य ६ जना सान्त्वनास्वरुप जनही १० हजार रुपैयाँसहित सम्मानित भएका छन् । सान्त्वना पुरस्कार पाउनेमा तनहुँका प्रकाश रम्घाली, विराटनगरकी पूजा आराधना, रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, सिन्धुपाल्चोकका सुन्दर शिरीष र गोरखाका भरतबाबु ढकाल छन्।

कविता मूल्यांकन समितिको संयोजन कवि रमेश पौडेलले गरेका थिए भने निर्णायकमा कविहरु श्रवण मुकारुङ, प्रभा भट्टराई र भूपिन व्याकुल थिए ।प्रतियोगितामा छानिएका उत्कृष्ट ६५ ओटा कविताहरु समेटिएको स्मारिका पनि विमोचन गरिएको थियो ।

प्रमुख अतिथि सरुभक्त, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रतिष्ठानका अध्यक्ष सागर उदास र सांस्कृतिक अध्येता काशीनाथ न्यौपानेसहितको समूहले स्मारिका विमोचन गरेका हुन्। प्रतिष्ठानकी सचिव अन्जु दाहालले रोचक ढंगमा सञ्चालन गरेको कार्यक्रममा पुरस्कृतका साथै अन्य कविले आ–आफ्ना कविता सुनाएका थिए।

कार्यक्रममा मुलुकका सातै प्रदेशका चर्चित कवि, लेखक तथा पत्रकारको सहभागिता छ । प्रतिष्ठान अध्यक्ष सागर उदास भन्छन्, ‘कविता कर्ममा लागेका युवाको उत्साह बढाउन र साहित्यिक उन्नयन र साहित्यिक पर्यटन प्रवद्र्धन गर्न साहित्य सम्मेलन आयोजना गरेका हौं ।’ प्रतिष्ठानले यसअघि २०५३ सालमा पहिलो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरेको थियो ।

More News last news
Loading...