पोखरा । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारको वर्गीय पक्षधरता भनेको असत्यका विरुद्ध कलम चलाउने हो भनेका छन् । प्रेस चौतारी नेपाल कास्कीको २५ औं वार्षिक साधारणसभाको सोमबार उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘पत्रकारको पक्षधरता भनेको तथ्यको आधारमा सत्य स्थापित गर्ने हो । सत्तामा बसेर बेइमानी गर्नेहरुका विरुद्ध कलम चलाउने हो र पीडित जनताका आवाज बाहिर ल्याउने हो ।’ पत्रकार शुद्धीकरण अभियानको प्रस्ताव आफूले नै ल्याएको स्मरण गर्दै उनले १५ बुँदे शुद्धीकरण मापदण्डको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्रेस चौतारीका महासचिव हिरामान लामाले देशैभरिका रेडियो र पत्रिका बन्द हुने अवस्थामा रहेको बताउँदै पेसागत दक्षतालाई अब्बल बनाउन सबै जना जुट्नुपर्ने बताए । उनले प्रेस चौतारी अहिले देशभर साधारणसभामा रहेको उनले बताए । एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारीले मिसन पत्रकारिताको हिसाबले अघि बढ्नुपर्ने सुझाव दिए ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकार शुद्धीकरणको अभियान कास्कीमा जारी रहेको बताइन् । उनले स्वघोषणा गरी सहयोग गर्न र नवीकरणमा आवश्यक कागजात नपुग्ने तथा मापदण्डले छुनलाई मात्र हटाउने स्पष्ट पारिन्।
कार्यक्रममा केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुष्मा पौडेल, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज रुद्र श्रीष, प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रेस युनियन कास्की अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपाल कास्की समन्वय समिति अध्यक्ष कृष्ण दवाडी लगायतले पत्रकारको हकहितको पक्षमा सबै संगठनहरु एक हुनुपर्ने बताए।
प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मोतीसागर अधिकारी र सचिव रञ्जन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
