५० नेपाली ओलम्पियन पोखरा आउने

रिजन नेपाल/पोखरा । नेपाल ओलम्पियन्स संघको आयोजनामा पोखरामा नेपाली ओलम्पियनको पुनर्मिलन हुने भएको छ । संघले जेठ १९–२१ सम्म यहाँ दोस्रो ओलम्पियन पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो । सम्मेलनमा ५० नेपाली ओलम्पियनले भाग लिने अनुमान छ ।

पहिलो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडांैमा भएको थियो । उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ यसपटक पोखरामा आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनमा अध्यक्ष दीपक बिस्टले जनाए ।

Advertisement

नेपाली ओलम्पियनहरु १९ गते पोखरा आइसक्छन् । उनीहरु भोलिपल्ट बिहान प्रभातफेरीमा जुट्ने छन् । सोही दिन साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुनर्मिलन तथा सम्मान कार्यक्रम हुनेछ । अन्तिम दिन २१ गते संघको वार्षिक साधारण हुनेछ । सोही दिन गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरुको अन्तरक्रिया हुने जनाइएको छ ।

सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको पाइन्छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो ।

झण्डै ६ दशकमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकालिन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्यांक छ । त्यसमध्ये १० जना स्वर्गीय भइसकेका छन् । केही ओलम्पियनहरु भने विदेशमा छन् । सर्भिस टु सोसाइटी सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालिन ओलम्पियनहरुको छाता संगठनका रुपमा विश्व ओलम्पियन संघको स्थापना भएको थियो ।

सोही संघमा सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स संघको गठन भएको थियो । पोखराको स्थानीय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

More News last news
Loading...