संसद बैठकमै कपडा खोलेर अर्धनग्न बने सांसद अमरेशकुमार सिंह

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको नियमावलीको नियम २१ मा संसदमा हुने छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम सम्बन्धी व्यवस्था छ।

Advertisement

सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ।

तर, सांसद सिंहले सभामुखले अनुमति नदिएपछि विरोधका रुपमा लुगा खोलेका हुन्।

संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ। यो नियमावलीको व्यवस्था उलंघन गरेको भन्दै सभामुख घिमिरेले अन्यथा कारबाही हुने चेतावनी दिए।

‘तपाईंलाई म चेतावनी दिन चाहन्छु। तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नुस्,’ सभामुख घिमिरेले भने। तर, सांसद सिंहले मानेनन्।

More News last news
Loading...