काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबारसम्पन्न ५७औँ साधारण सभामार्फत महासंघको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन्।
अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासंघको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका हुन्। सपथपछि उनले आफूले लामो समयदेखि सर्वसम्मतीको प्रयास जारी राखेको र अन्तिममा सफल भएको बताए। उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासंघको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गरे।
अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायी हुन्। महासंघमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन्। उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ। विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मिएका उनले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन्।
विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ सालमा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरी अध्यक्ष ढकालले व्यावसायिक फड्को हासिल गरेका थिए। हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठान नेपालसहित विश्व बजारमा स्थापित छन्। ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ।
ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
