गणतन्त्र आएको ढेड दशकपछि पोखराको रत्न मन्दिर खुला गर्ने तयारी

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए ।

सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिए । नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला गर्न काम अघि बढ्ने उनले बताए ।

Advertisement

मन्त्री किरातीले नेपाल ट्रष्ट यसअघि रक्षा र गृह मन्त्रालय मातहत रहेकाले लामो समय बैठक नै नबस्ने गरेकाले समेत केही ढिलाइ भए पनि अहिले पर्यटन मन्त्रालय मातहत आएकाले काम छिटो हुने बताए । उनले रत्न मन्दिरमा व्यावसायिक भवन बनाउने तथा व्यापारिक समूहलाई भाडामा दिने कुरा हुन नसक्ने जनाउँदै पोखरेलीवासीको भावनाअनुसार नै काम हुने बताए ।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । विसं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ट्रष्टको स्वामित्व छ ।

पर्यटकीय सहर पोखरास्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर (दरबार) देशमा गणतन्त्र आएको ढेड दशक बित्दासमेत अझै सर्वसाधारणका लागि खुला भएका छैन । तत्कालीन राजपरिवारका देशका अन्य भागमा रहेका दरबार खुला हुँदासमेत पोखराका यी दुई दरबार खुला नभएपछि यहाँका पर्यटन व्यवसायीले लामो समयदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला हुनुपर्ने माग गर्दै आएका छन् ।

More News last news
Loading...