सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले सरकार विस्तारलाई छिटो टुङ्गो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ। पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तार लगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो।

गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहनुभएको उहाँले जानकारी दिनुभयो।

Advertisement

प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारीसमेत गर्नुभएको सचिव पौडेलको भनाइ छ । सरकार विस्तारमा विलम्ब हुँदा जनअपेक्षालाई सम्बोधन गर्न नसकिएको ठहर गर्दै शीघ्र निष्कर्षमा पु-याउने माओवादीले विश्वास लिएको छ ।

यस्तै, सङ्घीय संसद्को कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो । गठबन्धनमा आबद्ध पार्टी र सांसदसँग छलफल गरेर महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने तथा सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका महत्वपूर्ण कानुन निर्माणमा जुट्ने गरी आजको बैठक केन्द्रित रहेको उहाँको भनाइ छ । त्यस्तै बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धमा बारेमा छलफल भएको थियो ।

सरकार र पार्टी एकअर्काका परिपूरक भएकाले पनि सरकारको काम कारबाही पार्टी र जनतासँग कसरी जोड्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहेको सचिव पौडेलको भनाइ छ । यस्तै प्रदेश सरकारलाई समेत सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडेर एकमुष्टरूपमा जनतालाई राहत दिने गरी जानुपर्ने माओवादीको निष्कर्ष छ।

सात प्रदेशमध्ये दुईवटा प्रदेशमा माओवादी नेतृत्वको सरकार छ । अन्य प्रदेशमा पनि नयाँ गठबन्धनको सरकार विस्तार तयारी छ । सातै प्रदेशमा आलोपालो संरचनाअनुरुप अघि लाने भन्ने विषयमा संक्षिप्त कुराकानी भएको सचिव पौडेलको भनाइ छ।

More News last news
Loading...