अल्पमतमा गण्डकी सरकार, कोशीमा पनि संकट, बागमतीमा कांग्रेस-एस इन

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकार छ । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।

Advertisement

६० सिट भएको गण्डकी प्रदेश सभामा कांग्रेस २७, एमाले २२, माओवादी केन्द्र ८ र राप्रपा २ र एकीकृत समाजवादीको १ सिट रहेको छ । एमाले नेतृत्वको सरकारबाट माओवादी बाहिरिएसँगै अब सरकारको पक्षमा एमाले र राप्रपाको गरी जम्मा २४ सिट मात्रै रहेको छ।

केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै प्रदेशमा पनि सरकार डगमगाउन थालेका छन् । बागमती प्रदेशमा एमालेले सरकार छाडेपनि कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) ले सरकारलाई समर्थन दिँदा माओवादी नेता शालिकराम जमरकट्टेल नेतृत्वको सरकारले दोस्रो पटक विश्वासको मत पाएको छ ।

उता एमाले अध्यक्ष केपी ओलीको गृह प्रदेश कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार धरमराएको छ । माओवादी लगायतका दलले सरकार छाडेमा राप्रपाको समर्थन पाए पनि एमाले नेतृत्वको सरकार ढल्ने भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। प्रदेशमा एमालेसँग ४० जना र राप्रपासँग ६ जना सांसद् छन् । यसले पनि सरकारलाई बहुमत पुर्याउन एमालेलाई १ जना सांसद् अपुग देखिन्छ ।

यता कांग्रेससँग २९, माओवादीका १३, नेकपा एसका ४ जना र जसपासँग १ सांसद छन्। अहिलेको सत्ता गठबन्धनको बहुमत सजिलै पुग्ने देखिन्छ । तर केन्द्रीय सत्ता समिकरण बाहिर गएर जसपाका एक जना सांसद्ले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेमा भने यहि सरकार टिक्न सक्ने छ ।

एमाले अध्यक्ष केपी ओलीले शुक्रबार मात्रै एमाले नेतृत्वको कोशी सरकार टिकाउन एक जना सांसद् खोजिने  र सरकार टिकाइराख्ने बताएका थिए । ओलीको यो भनाई पूरा होला वा नहोला त्यो भने आउने समयले नै देखाउने छ ।

 

 

More News last news
Loading...