फेवा महोत्सवको तयारी तीव्र

पोखरा । नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ। महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र विभिन्न उपसमिति गठन गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटबाट हल्लनचोकसम्मको सडकमा गरिने महोत्सवका लागि विभिन्न स्ट्रिटअन्तर्गत होटल समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको उनले बताए।

Advertisement

अहिले होटलमा क्षमताको ८० देखि ९० प्रतिशत भरिभराउ हुनुपर्ने भए पनि पर्यटकीययाममा नै १५ गतेदेखि २० प्रतिशत मात्र रहेको बताउँदै उनले सञ्चालन खर्च धान्न पनि मुस्किल परेको बताउनुभयो । गत माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उनको भनाइ छ।

होटल संघ नेपालका केन्द्रीय सदस्य एवं सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्देश्य भएको बताए । यती जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उनले पर्यटकको याममा पनि होटलको अकुपेन्सी २० प्रतिशत हुनु दुःखद् भएको बताए ।

संघका सल्लाहकार विश्वशङ्कर पालिखेले महोत्सवमा नयाँपन दिनसके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनियाँ संस्कृतिसम्बन्धी कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव दिए। सल्लाहकारहरू गोविन्दराज पहारी, लक्ष्मीबहादुर भट्टराई, सङ्घका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनलगायतले कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।

More News last news
Loading...