नेपाल आउने पर्यटकको संख्या बढ्यो, फेब्रुअरीमा मात्रै भित्रिए ७३ हजार

काठमाडौँ । गएकाे एक महिनामा ७३ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । गएको फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो।

कोरोना महामारी सुरु भएपछिका दुई वर्ष सन् २०२१ र २०२२ मा घटेको पर्यटक सङ्ख्या यस वर्ष बढेको हो । यसअघि सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ जना र २०२१ को फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को फेब्रुअरीमा एक लाख दुई हजार चार सय २३ जना पर्यटक नेपाल आएका थिए ।

Advertisement

फेब्रुअरीमा पर्यटकको सङ्ख्या बढेसँगै २०२३ को दुई महिनाको अवधिमा नेपाल भ्रमणमा आएका पर्यटकको सङ्ख्या एक लाख २८ हजार तीन सय २९ जना पुगेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए ।

चीन सरकारले फेब्रुअरी ६ देखि आफ्ना नागरिकलाई भ्रमणमा जान खुला गरेको छ । यसको सकारात्मक प्रभाव नेपालमा समेत देखिन थालेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयाे ।गएको फेब्रुअरीमा दुई हजार दुई सय ६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । जनवरीमा एक हजार चार सय ३६ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक जना पर्यटक नेपाल आउका छन् । यस्तै अमेरिकाबाट सात हजार आठ सय ८७ जना, थाइल्यान्डबाट चार हजार आठ सय दुई जना, बेलायतबाट चार हजार तीन सय ४५ जना र दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारीले नराम्रारी प्रभावित बनेको नेपालको पर्यटन उद्योग पुनः लयमा आउन थालेको छ ।

More News last news
Loading...