एमालेका मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष बुझाए राजीनामा

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । ती मन्त्रीहरुले सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

एमालेबाट सरकारमा सहभागी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषिमन्त्री ज्वालाकुमारी शाह, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, भूमिसुधारमन्त्री राजेन्द्रकुमार राई र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

Advertisement

गत पुस ११ गते सरकारमा सहभागी भएको एमालेले दुई महिनापछि सरकार छाडेको छ । गत पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पु-याएका थिए ।

त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो । तर, सहमतिविपरीत प्रधानमन्त्रीले नेपाली काँग्रेससहितको आठदलीय मोर्चा बनाएर राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरेसँगै एमाले सरकारबाट बाहिरिएको हो।

More News last news
Loading...