टर्की भूकम्प: ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघ्यो, २० नेपाली सम्पर्कमा

सिन्ह्वा । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५७ रहेको छ । सिरियामा ज्यान गुमाउनेकाे सङ्ख्या पुष्टि गर्न गाह्राे भइरहेकाे छ तर सरकारी सञ्चारमाध्यमहरूले झन्डै २५ सय जनाकाे ज्यान गुमाएका उल्लेख गरेको बीबीसीले जनाएकाे छ ।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन् । ज्यान गुमाउनेकाे सङ्ख्या अझै बढ्न सक्ने बताइएकाे छ । उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न देशले सहयोगी टोली परिचालन गरेका छन् ।

Advertisement

टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित ठाउँमा परिचालन भएका बताएका छन् । झन्डै छ हजार भवन भत्केकाले सबै ठाउँमा सहायता परिचालन गर्न कठिन भएको छ । सोमवार र मङ्गलवार कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रूत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको थियो ।

युरोपेली सङ्घ, सङ्घमा आबद्ध १३ देशले राहत सामग्रीसहितको उद्धार टोली परिचालन गरेका छन् । मङ्गवार टर्की र सिरियाका भूकम्प पीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशले आर्थिक एवम् भौतिक सहयोगको घोषणा गरेका थिए ।

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७ दशमलव८ म्याग्निच्युड र त्यसकाे केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले देशकाे दक्षिण क्षेत्रका १० वटा प्रान्तमा सङ्कटकाल घाेषणा गर्नुभएकाे छ । याे सङ्कटकाल तीन महिनाका लागि हाे ।

टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २० जना नेपाली सम्पर्कमा आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका महासचिव विनोद पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार उनीहरूमध्ये १४ जना विद्यार्थी र बाँकी ६ जना त्यहाँ कार्यरत श्रमिक रहेका छन्। सम्पर्कमा आएका २० जना सेल्टर हाउस र होटलमा रहेका छन्।

सम्पर्कमा आएकाहरू सबैजना सुरक्षित स्थानमा रहेको र उनीहरुलाई खानाको व्यवस्था पनि त्यहींको नगरपालिका र रेडक्रस लगायतका संघसंस्थाहरुले गरिरहेका उहाँले बताउनुभयो। ‘नगरपालिकाले पनि खाना, कपडा लगायत अत्यावश्यक कुराहरूको व्यवस्था गरिरहेको छ, बाटो बन्द भएको ठाउँबाट सेनाको हेलिकप्टरले पनि अत्यावश्यक बस्तुहरू लगिरहेको छ’ महासचिव पौडेलले भन्नुभयो।

More News last news
Loading...