पूर्वराजालाई भेट्न मन्त्रीसहित नेताहरूको लर्को

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका उच्च तहका सबै नेतासँग भेट गरी हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन दबाब दिएका छन्।

झापा बसाइका क्रममा चितवन, जनकपुर र सिमरा आउँदै जाँदै गरेका ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटमा हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसद्मा कडा रूपमा उठाउन आग्रह गरेका हुन् ।

Advertisement

उच्चस्रोतका अनुसार लिङ्देनले झापा र जनकपुरमा पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका थिए । पछिल्लो समय संसद्मा राप्रपाका नेता धवलशम्शेर जबराले प्रजातन्त्रसहितको राजतन्त्रको वकालत गरिरहेका छन्। १४ सिट जितेका राप्रपाको मन्त्री र नेताहरूले पूर्वराजाकै इसारामा हिन्दु धर्मसहितको राजतन्त्रको विषय उठाइरहेको बताइन्छ ।

सरकारमा उपप्रधान र ऊर्जामन्त्रीसहित ३ मन्त्री र १ राज्य राज्यमन्त्रीको भाग पाएको राप्रपाले हरेक विषय उठान गर्दा राजतन्त्रको पक्षमा वकालत गरेको देखिन्छ । झापामा बसेर राजनीति गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले भेट गरेका अधिकांश नेताले हिन्दुराज्य र राजतन्त्रको विषय उठाउने गरेका छन् ।

क्रिसमस मनाउन चितवन पूगेका पूर्वराजा ज्ञानेन्द्रले सोही क्षेत्रका सांसद एवं शहरी विकासमन्त्री विक्रम पाण्डेसँग भेट गरेका थिए। त्यस्तै, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, पार्टी प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाही र वरिष्ठ नेता बुद्धीमान तामाङले पनि चितवनमै पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका थिए । ऊर्जा राज्यमन्त्री दीपक सिंहले भने पूर्वराजा ज्ञानेन्द्रसँग सिमरामा भेट गरेका थिए ।

मठमन्दिर घुम्न र दर्शन पूजापाठ गर्न भन्दै जनकपुर पुगेका पूर्वराजाले त्यहाँ राजावादीहरूसँग भेट गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रका सचिवालयले निजी भ्रमणको लागि झापा जान लागेको बताए तापनि राजनीतिक चलखेल गर्न झापा बस्दै आएको निकट स्रोतले जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

More News last news
Loading...