तीन महिनामा दुई किलोमिटर सुनकोसी–मरिण डाइभर्सन (सुरुङ) निर्माण

सिन्धुली । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ।टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ।

आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो। मासिक रूपमा कम्तीमा पनि पाँच सय मिटर सुरुङ निर्माण गर्ने लक्ष्य रहेकामा अहिले लक्ष्यभन्दा ८०७ मिटर बढी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। टनेल बोरिङ मेसिनबाट सुरुङ निर्माण कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले गरिरहेको छ।

Advertisement

आयोजना प्रमुख बरालले भने, “सुरुङ निर्माणको प्रगति लक्ष्यभन्दा बढी भएको छ । सुरुङ खन्ने क्रममा दुई हजार ११२ मिटरभित्र पुगेपछि केही भौगर्भिक (जियोलोजिकल) समस्या देखिएकाले नौ दिनसम्म काम रोकियो । बाइपास टनेल निर्माण गरी त्यसलाई निकालेर अहिले पुनः काम भइरहेको छ ।” सुरुङ निर्माण गर्न चुरेमा सजिलो हुने र सानातिना समस्या त आइरहने उनको भनाइ छ।

महाभारत क्षेत्रमा पुगेपछि भौगर्भिक समस्या आउन सक्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यही गतिमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधिभन्दा अघि नै निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । सुरुङ निर्माणले गति लिएसँगै भौतिक प्रगति बढ्दै जाने र सुनकोसीमा हेडवक्र्स निर्माणको ठेक्का सम्झौता गर्न तयारी भइरहेको आयोजना प्रमुख बरालले जानकारी दिए।

अहिले दैनिक सरदर २५ मिटर र कुनै दिन ३८ मिटरसम्म सुरुङ निर्माण गरेको आयोजनाले जनाएको छ। आव २०७७/७८ देखि सुरु भएको आयोजना २०८४/८५ सम्ममा सक्ने लक्ष्य रहेको छ। आयोजनाको कुल लागत करिब ४६ अर्ब रुपियाँ रहने अनुमान गरिएको आयोजनाले जनाएको छ। गोरखापत्र दैनिकबाट

More News last news
Loading...