भारतबाट ५० हजार टन गहुँ आयात अलमलमा

विराटनगर । चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सकेको छैन । यसबाट देशभर सञ्चालनमा रहेका ४० मैदा मिलको उत्पादन बन्द भएको छ । मैदा र आँटासँग जोडिएका अन्य उद्योगको उत्पादनसमेत घटेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले नयाँ मन्त्री नआएसम्म फाइल अघि नबढ्ने बताए । १२ दिनअघि भारत सरकारबाट नेपालका लागि ५० हजार टन गहुँ निर्यातको स्वीकृति आए पनि मन्त्रालयबाट कुन उद्योगलाई कति टन दिने भन्ने चिठी भारतको सम्बद्ध मन्त्रालयमा नपुगेका कारण स्वीकृत कोटाको गहुँसमेत आयात हुन नसकेको हो ।

Advertisement

भर्खरै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएका सचिव मधुकुमार मरासिनीले आफू भर्खरै हाजीर भएकाले कुन शाखामा के भइरहेको छ भन्ने अध्ययन गरिरहेको र अहिले नै सबै कुरा भन्न नसक्ने बताए ।

नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले सरकारले ४ महीनाअघि नै कोटा पठाएको भए अहिले दोस्रो खेप गहुँ भारतबाट आइसक्ने बेला भएको उल्लेख गरे । ‘स्वीकृत भएको ५० हजार टन ल्याउन एउटा पत्र पठाउन नसक्नु दुर्भाग्य हो,’ उनले भने ।

दुगडले गहुँ अभाव भएपछि मुलुकभरका ४० ओटा ठूला मैदा मिलको उत्पादन शून्य भएको दाबी गरे । केही दिन स्टकले धाने पनि छोटो समयमै चाउचाउ र बिस्कुट उद्योगसमेत बन्द हुने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

More News last news
Loading...