काठमाडौं । सरकारले नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको छ।
विमानस्थलको भूमिस्थ सेवामा समेत छुट दिनेबारे छलफल भइरहे पनि निर्णय भने भइसकेको छैन ।” विमानस्थल सञ्चालनमा आएदेखि एक वर्षसम्म उक्त छुट सुविधा दिइने उनले बताए । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्न नेपाल वायुसेवा निगमलाई २०७७ मङ्सिरमै अनुमति दिइसकेको छ । निगमले जहाजको म्याक्सिम सर्टिफिकेटेड टेकअफ वेट (एमटीओडब्लू) अधिकतम उडानयोग्य तौललगायतका आधारमा भूमिस्थ सेवा शुल्क लिनेछ ।
गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई एक वर्षसम्मका लागि विभिन्न सेवा शुल्कमा छुट दिँदै आएको छ । त्यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने हवाई सेवाले हाल भूमिस्थ सेवामा ५० प्रतिशत छुट लिँदै आएका छन् ।
यता गत कात्तिक १७ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्दै आएको हिमालय एयरलाइन्सले भने यात्रु नपाएको भन्दै उडान रोकेको छ । एयरलाइन्स स्रोतका अनुसार रोकिएको उडान पुनः कहिलेबाट उडान हुन्छ भन्ने निश्चित छैन । हिमालयले उडान रोकेपछि अब उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै साताको तीन उडान गर्ने भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
