काठमाडौं l इन्डोनेसियामा जारी जी२० बैठकको आज अन्तिम दिन हो। आजको बैठकमा जी–सेभेन देशका नेताहरुले पोल्याण्डमा खसेको कथित रुसी मिसाइलबारे छलफल गरेका छन् ।
अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरूको उपस्थिति रहेको उक्त कुराकानीको तस्बिर सार्वजनिक भएको छ । उनीहरूबाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि यस बैठकमा सहभागी थिए ।
पोल्याण्डमा रुसी क्षेप्यास्त्र खसेको परिणाम गम्भीर हुन सक्छ। पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो र यस घटनालाई नेटोमाथि आक्रमण मान्न सकिने बताइएको छ । नेटोको सदस्य हुनु भनेको कुनै सदस्य राष्ट्रमा सशस्त्र आक्रमण भएमा अन्य सदस्य राष्ट्रले सहयोग गर्न अगाडि आउने र आक्रमण भएको वा भइरहेका देशमा नेटोको सेना पठाउन सक्छ ।
यदि उक्त मिसाइल रुसी भएको पुष्टि भयो भने यसले (सैद्धान्तिक रूपमा) द्वन्द्व बढाउने जोखिम रहन्छ । बीबीसी संवाददाता क्रिस मेसनका अनुसार पोल्याण्डमा भएको घटनापछि जी–२० का सबै देशका योजनाहरू फेल भएको देखिन्छ ।
पश्चिमी देशका नेताहरू आफ्ना रक्षा र परराष्ट्रमन्त्रीहरूसँग कुराकानी गर्न र पोल्याण्डलाई पनि फोन गर्न व्यस्त छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग सम्पर्कमा छन् । जो बाइडेनले नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग पनि वार्ता गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
