काठमाडौँ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो।
मौसमविद्का अनुसार आज र भोलि देशभर नै पानी पर्ने सम्भावना छ। भोलि पनि धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
