नेपालमा पहिलोपटक ‘ह्युमन मिल्क बैंक’स्थापना

काठमाडौं l थापाथलीस्थित नेपालकै एक मात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो ‘ह्युमन मिल्क बैंक’ (अमृत कोष) स्थापना भएको छ। अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन्।

बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई आवश्यक भएका वेला अरू आमाहरूको दूध उपलब्ध गराउने अस्पतालका निर्देशक प्राडा अमिरबाबु श्रेष्ठले बताए।

Advertisement

‘समय नपुगी जन्मेका र कम तौल भएका शिशु जीवित रहिरहन सक्ने तथा उनीहरूको पर्याप्त शारीरिक तथा मानसिक विकास हुन नसक्ने बढी जोखिम हुन्छ। यसका साथै उनीहरूको कमजोर स्वास्थ्य अवस्थाका कारण उनीहरूलाई दूध खुवाउन पनि गाह्रो हुन्छ’‚ प्राडा श्रेष्ठले भने, ‘प्रायजसो यस्ता शिशुको सन्दर्भमा प्रत्यक्ष स्तनपान सम्भव हुँदैन। यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दूध निकालेर खुवाउनु हो, सम्भव भएसम्म आफ्नै आमाको दूध खुवाउनु पर्छ।’

समय नपुगी जन्मेका नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुमा संक्रमण (सेप्सिस्) र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस्’ (आन्द्रासम्बन्धी एक प्रकारको रोग) को उच्च जोखिम रहने हुँदा त्यस्ता बच्चाहरूका लागि लक्षित गरेर अमृत कोष स्थापना गरिएको निर्देशक श्रेष्ठले बताए।

उनले भने‚ ‘बट्टाको दूध खुवाएका शिशुहरूमा यो समस्या उनीहरू २ हप्ता पुग्दादेखि नै देखिन थाल्छ। उनीहरूलाई बट्टाको दूधको साटो दान गरिएको अरू आमाको दूध खुवाउन सके बट्टाको दूधका नकरात्मक असरहरूबाट जोगाउन सकिन्छ।’

अमृत कोष’ नेपाल सरकार, यूरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो। सन् २०१३ देखि युनिसेफले यूरोपियन युनियनको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

‘नेपालमा पहिलो ह्युमन मिल्क बैंक स्थापना गर्न नेपाल सरकार र यूरोपियन युनियनसँग सहकार्य गर्न पाउँदा युनिसेफ हर्षित छ। बाल पोषण सुधार गर्न र विशेष गरी बालबालिकामा देखिएको तीव्र कुपोषणलाई सम्बोधन गर्न बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत हाम्रो संयुक्त प्रयासलाई अगाडि बढाउनको लागि ‘अमृत कोष’ – ह्युमन मिल्क बैंकको पहल महत्वपूर्ण छ’‚ नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विशले भने।

युनिसेफका अनुसार विश्वभर वार्षिक करिब १ करोड ५० लाख शिशु समय नपुगी जन्मिने गरेका छन्। नेपाल जस्ता निम्न मध्यम आय भएका देशहरूमा करिब ८१,००० शिशु समय नपुग्दै जन्मिन्छन्। शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगी जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन्।

सन् २०१९ को नेपाल बहुसूचक सर्वेक्षणअनुसार नेपालमा नवजात मृत्यु दर (जीवनको पहिलो २८ दिनमा प्रति १००० जीवित जन्ममा मृत्यु हुनेको संख्या) १६ छ। त्यस्तै शिशु मृत्युदर (प्रति १००० जीवित जन्ममा १ वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या) २५ र ५ वर्ष मुनिको मृत्युदर प्रति १००० जीवित जन्ममा २८ छ।

‘आमाको दूध पोषणको उत्तम स्रोत हो र यसले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वास्थ्य विकासमा मद्दत पुर्‍याउँछ। आमाको दूधले शिशुको मस्तिष्कको विकासलाई बलियो बनाउँछ र बालबालिका र आमालाई जीवनभर फाइदा गर्छ’‚ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने, ‘आमाको दूधमा अन्य कुनै स्रोतहरूमा नपाइने एन्टिबडीहरू हुन्छन्। त्यसैले जन्मेको पहिलो घण्टामा हुने स्तनपानको प्रारम्भिक शुरुवात, जन्मदेखि ६ महिना उमेरसम्मको पूर्ण स्तनपान र २ वर्षसम्मको स्तनपान र त्यसपछिको पूरक आहारले शिशुलाई विभिन्न खालका संक्रमण र कुपोषणबाट जोगाउँछ भने शिशुको मृत्यु हुन सक्ने जोखिम समेत घटाउँछ।’

More News last news
Loading...