प्रहरी बुट खरिदमा ६ करोड घोटाला

काठमाडौं । नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ। कर्नवाल बिजनेस ट्रेडर्स को नाममा मोडर्न सुज लिमिटेडबाट उत्पादित ‘फाइटर सुज’ किन्दा दोब्बर मूल्य परेको हो।

व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेन्डर पारेको थियो। सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ती बुट खरिद गरेर जिल्ला–जिल्लामा पठाइएको थियो।

Advertisement

१३ करोड ५० लाख रूपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिब आधा रकम घोटाला भएको अनुमान गरिएको छ। ‘अहिले आएका बुटको गुणस्तर निकै कमजोर रहेको छ, घामपानीमा उप्किने खालको छ, यही बुट लिएर बजारमा किन्न जाँदा १४ सयदेखि १५ सय रूपैयाँ पर्छ तर नेपाल प्रहरीले यो बुटलाई २ हजार ६ सय ५० रूपैयाँ तिरेको छ। जसले गर्दा आधाभन्दा बढी रकम अपचलन भएको बुझिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

उनीहरूकै मिलेमतोमा रहेका अन्य कम्पनीले २ हजार ६ सय ७५ र २ हजार ७ सय ७५ रुपैयाँ हालेका थिए। हालको ठेक्का भने २ हजार ६ सय ५० रूपैयाँ प्रस्ताव गर्ने कम्पनीले पाएको थियो। सो कम्पनीले बुट खरिद गरेर सबै जिल्लामा पठाइसकेको र त्यहाँबाट भुक्तानीसमेत लिइसकेको छ। प्रहरीले यस पटक राजनीतिक शक्ति केन्द्रको दबाबमा केन्द्रबाटै खरिद गरेको थियो।

यसअघि खरिद प्रक्रिया जिल्लाजिल्लाबाटै हुने गथ्र्यो। उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएदेखि नै खरिद प्रक्रियालाई पारदर्शी बनाउन सम्बन्धित कार्यालयलाई जिम्मा दिने गरिएको थियो। तर, अहिले भने माथिको आदेश भन्दै प्रहरी प्रधान कार्यालयले काठमाडौंबाट खरिद गरेर सम्बन्धित कार्यालयमा सामान पठाई भुक्तानी दिन आदेश दिएको थियो। सोही अनुसार भुक्तानी भइसकेको छ।

स्रोतका अनुसार गुणस्तर परीक्षणसमेत नगरी १३ करोड ५० लाख रूपैयाँबराबरको डिएमएस बुट गुपचुप रूपमा खरिद गरी वितरण गरिएको हो। यसो गर्दा नेपाल प्रहरीलाई ६ करोड रूपैयाँभन्दा बढी घाटा लागेको स्रोतको दाबी छ।

More News last news
Loading...