नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।
हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ।
यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो।
निगमका अनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको हो।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
