कास्की कांग्रेसका नेताहरूलाई देउवाले भने ‘गठबन्धनमा पाेखराबारे छलफल नै भएको छैन’

पोखरा l नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताए । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकुलमा रहेको रिपोर्टिङ गरेका छन्।

Advertisement

तर, अर्काथरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको श्रोतले बतायो। विशेषगरी व्यापारिक घरानाले यस्तो छलफल गरेका हुन् ।

भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रतिक्रिया दिएका थिए । ‘कुरा नै भएको छैन । छलफल भएकै छैन । बाहिरको कुरामा विश्वास नगर्नुस्,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तपाईंहरू अरुको कुरा सुनेर धारणा बनाउनुहुन्छ । समाचारमा सत्यता छैन ।’

उनले पोखरामा एक्लै चुनाव जित्ने आधार खोजेका थिए । ‘गठबन्धन नगर्ने भन्नुहुन्छ । एक्लै चुनाव जित्ने आधार के छ ? पहिले एक्लै चुनाव लडेको होइन ? के हालत भयो ?,’ देउवाले अघि भने, ‘गठबन्धन गर्नुपर्छ । हामीले मेयर पाउँदा को हो उम्मेद्‌वार ? सहमतिबाट टुंग्याउन सक्नुहुन्छ ?’

देउवा भेट्न गएका टोलीमध्ये अधिकांशले आफैँले टिकट पाउनुपर्ने आन्तरिक लविङसमेत गरेका थिए । बाहिर भने एकीकृत समाजवालीले मेयरको टिकट पाउने चर्चा चलेको छ । त्यसमा कुनै सत्यता नरहेकाे देउवाले बताएका थिए।

More News last news
Loading...