मकर राशिका लागि कति शुभ छ २०७९ साल ? हेर्नुहोस् [वार्षिक राशिफल]

मकर राशि हुनेहरूका लागि यो वर्षको माघ महिनासम्म मध्यसाढेसाती शनि रहेको छ । साथै राहु र केतु ग्रहको स्थिति पनि अनुकूल देखिएको छैन । गुरु बृहस्पति भने वर्षको पूर्वखण्ड अनुकूल देखिएका छन् । जसले गर्दा मकर राशिको लागि वि.सं. २०७९ साल वर्षको पूर्वार्धमा संघर्षको बाबजुत तसै राहतप्रद रहने देखिन्छ । रपनि धेरै ईच्छाएको कामकार्य पूरा हुन कठिन पर्नेछ ।

मिथ्यापवाद अथवा झुटो लाञ्छना, आफैलाई तथा परिवारका सदस्यमा स्वास्थ्यकष्ट आदिको कारण रोगशोकको सामना जस्ता विपरितफलको बाबजुत सामान्यतया पदप्रतिष्ठा बढ्ने, अध्ययन अध्यापनमा सफलता मिल्ने र पेशा तथा उद्योग एवं व्यापार व्यवसायमा प्रगति हुनगई आर्थिक उन्नति हुनेछ । अल्लि बढी तयारी गरेर आयोग लड्नाले सरकारी तथा प्राइभेट जागिरमा समेत रोजगारीको अवसर मिल्ने छ ।

Advertisement

कामकार्यहरूमा अड्चन र ढिलासुस्तिको अनुभव हुनेछ । कैफियत कार्यमा चेष्टा हुने र पछि पश्चातापमा पर्नसकिने भय पनि रहेको छ, जसबाट बच्नको लागि निकै संयमित हुनु बुद्धिमानी हुनेछ । जन्मकालमा संबन्धित ग्रह अनुकूल हुने कमै व्यक्तिहरूको लागि भने अपेक्षित कार्यमा अबरोध भएपनि संघर्षको बाबजुत अनपेक्षित रूपमा आकस्मिक लाभ एवं उपलब्धिहरू मिल्ने छन् ।

संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने र समय फुत्किसके पछि पश्चाताप पर्नेजस्ता फलको संकेत ग्रहगोचरले गरिरहेको हुनाले जनव्यवहारमा संयमित हुनु निकै आवश्यक देखिन्छ।

यसैगरी, वातव्याधि, स्नायू तथा नशा रोग, ढाडकम्मर शिर मस्तिष्कमा समस्या, अल्सर, क्षय, चोटपटक एवं प्रोष्टेड बढ्ने, घाउखटिरा एवं पित्तविकार तथा ज्वरोप्रकोप, मिर्गौला लिभर गर्भाशय आदिमा रोगको सिकायत, थायरायड, स्तन विकार आदि स्वास्थ्य समस्याको जोखिम देखिएको छ । हृदयरोग, उच्चरक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगीहरू लगायत सम्बन्धित सबैले विशेषरूपमा स्वास्थ्यको ख्याल गर्नु उचित हुनेछ ।

रपनि निस्काम कर्मको साधकको हकमा भने सामान्यतया उपयुक्त कर्मफल मिल्ने छ । थोरधेर लाभ एवं उपलब्धिको संभावना पनि छ । तर उन्माद् र मदहोश गर्नेको लागि प्रतिफल विपरित नै हुने देखिन्छ ।

कृषि एवं पशुचौपायाको पक्षलाई ग्रहले घच्च पुर्याउने लक्षण देखाइरहेको छ, साविकलाई निरन्तरता दिएर नयाँ लगानी नबढाएकै राम्रो हुनेछ । घरजग्गा खरिदबिक्रिको काममा पनि धेरै चासो नराखेको बुद्धिमानी हुनेछ, अन्यथा क्षतिखति बढ्ने संभावना देखिन्छ । घरपरिवारबाट टाढिने तथा विदेश प्रदेश जाने ईच्छा भने पूरा हुनेछ । विचार विवेक पुर्याएर वैवाहिक कार्य संपादन गर्नसकिने छ । यो राशिका प्राविधिक व्यक्तिहरूले भने यो वर्ष प्रगति तथा व्यवसायिक लाभ गर्नसकिने छ ।

महादशा, अन्तर्दशा, योगिनी दशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरूलाई वर्षको मध्य उपरान्त वादविवाद, झैझगडा, मुद्धामामिला, कार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, स्वास्थ्यमा प्रतिकूलता, मान्यजनकष्ट, परिबन्दनीय परिस्थिति जस्ता विपरित फलको सामना गर्नपर्ने छ । षड्यन्त्र, कुलत तथा कुसंगत, विपरित खानपान आदिमा फसिने खतरा देखिन्छ । दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षतिखति पर्नसक्ने कुरालाई पनि नकार्न सकिन्न ।

ग्रहको दुष्प्रभावलाई कम गर्न तपाईले यो वर्ष महाकालशनि मृत्युञ्जयको पाठको साथमा महावीर हनुमान, भैरवदेव एवं छिन्नमस्तादेवी र वर्षको उत्तरार्धमा माँ बगलामुखी एवं विद्यार्थीहरूले माँ सरस्वतीको दर्शन भक्ति एवं उपाशना गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले वर्षभरी शनि, राहु, केतु र वर्षको पछिल्लो खण्डमा गुरु बृहस्पतिको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु शुभकर हुनेछ ।

जागिर पेशा व्यवसायिक कर्म आदिको शिलशिलामा घर बाहिर अथवा देश विदेश कहीँ पनि हुनुहुन्छ र ग्रहशान्तिजन्य कर्मकाण्डी विधिविधान गर्न सम्भव हुँदैन भने पनि बुबाआमा हुनेहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा जसरी सकिन्छ उहाँहरूको सेवा गर्नाले, लोपोन्मुख स्थानीय जातिका गाईको वंशलाई संरक्षण गर्ने हेतुले स्थापना भएका गौशालाहरूलाई सहयोग गर्नाले, दीनदुःखी असहाय, रोगी, असक्त, बालबृद्धहरूलाई सेवाको लागि सञ्चालन भएका निकायहरूलाई सहयोग गर्नाले साथै अहिंसा आदि सत्याचरणमा रहेर परोपकार एवं लोकहितको कर्म गर्नाले पनि ग्रहजनित दुस्प्रभावलाई कमगर्न सकिन्छ ।

कतिपय व्यक्तिललाई फाप्ने कलर एवं नं.को बारेमा जान्ने ईच्छा हुनसक्छ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकत्त्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । तथापि राशिको आधारमा कलर र नं. जान्न चाहनुहुने मकर राशि हुने व्यक्तिहरूले निलो, पानी रङ्ग अथवा आंशिक सेतो र हरियो रङ्गको प्रयोग अथवा यी रङ्गका वस्तुको प्रयोग गर्नसक्नु हुनेछ । यसै गरी अङ्कमा १, २ र ६ अङ्कको प्रयोग गर्नसक्नु हुनेछ ।

More News last news
Loading...