फेवातालको मापदण्ड ३० मिटर, सबै तालकाे नयाँ मापदण्ड

पोखरा l पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालको मापदण्ड तोकेको छ । बुधबार बसेको कार्यपालिका बैठकले फेवा सहित ९ वटै तालहरुको मापदण्ड तोकेको हो । फेवातालको मापदण्ड अव ३० मिटर कायम गरिएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको पोखराले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकिदिएको हो ।

Advertisement

यसअघि ६५ मिटर मापदण्ड रहेकोमा त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लिएको सुझावका आधारमा मापदण्ड तोकिएको महानगरले जनाएको छ ।

यस्तै, बेगनास र रुपातालको मापण्दड ५५ मिटर कायम गरिएको छ । सरकारले यि तालहरुको मापदण्ड १ सय मिटर तोकेको थियो । तर स्थानीयलाई असर पर्ने भन्दै ५५ मिटरमा झारिएको हो।

अरु साना तालको मापदण्ड भने २० मिटर कायम गरिएको छ । योसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ।

उपत्यका नगर विकास समितिले १३ वर्षअघि ताल विकासका लागि भन्दै नजिकका जग्गा रोक्का राख्ने निर्णय गरेको थियो । तर जग्गाधनीहरुले भने अन्याय भएकोले फुकुवाको माग गरेका थिए ।

More News last news
Loading...