कोरियामा थप ९,६५४ कामदार माग, दुई वर्षदेखि रोकिएको मलेशिया पनि खुल्यो

काठमाडौँ । नेपाली नागरिकहरूका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा थप ९,००० भन्दा बढी कामदारका लागि भाषा तथा सीप परीक्षाको आवेदन खुलेको छ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कामदारको छनौटका लागि सोमवार एक सूचना जारी गर्दै भाषा तथा सीप परीक्षाको आवेदन माग गरेको हो।

Advertisement

कोभिड सङ्क्रमणको महामारीसँगै दुई वर्षअघिबाट रोकिएको मलेशियाको रोजगारी पनि खुलेपछि नेपाली नागरिकहरूका लागि वैदेशिक रोजगारीको अवसर कोभिड पूर्वकै अवस्थामा फर्किएको अधिकारीहरूले बताएका छन्।

यसअघि कोभिडका कारण रोकिएका गन्तव्य मुलुकहरूमा अब कामदार जाने काम पुरानै स्थितिमा फर्कन थालेको उनीहरूको दाबी छ।

“अब कोभिडअगाडि जुन अवस्था थियो, त्यस्तै अवस्था हुन्छ। किनभने अब मलेशिया खुलेपछि कोभिडकै कारण प्रतिबन्ध भएको वा माग कम भएको भन्ने छैन,” विभागका महानिर्देशक शेषनारायण पौडेलले भने।

यसअघि स्याहार केन्द्रमा मात्रै नेपाली श्रमिकलाई अवसर दिँदै आएको इजरेलले निर्माण क्षेत्रमा पनि कामदार लैजान नेपालसँग इच्छा देखाएको छ।

विभागका अनुसार माल्दिभ्सले चिकित्सकहरू र बेलायतले नर्सहरू लैजान इच्छा देखाएको छ। कतारमा प्रहरीका लागि नेपालीहरू लैजाने पहल पनि अघि बढिरहेको पौडेलले जानकारी दिए।

“क्यानडा, युरोपका केही देशहरू र कोरियाबाट खेतीबाली लगाउने र स्याहार्ने मौसममा लैजाने र कामको मौसम सकिएपछि फर्काउने गरी ‘सिजनल वर्कर’ लैजाने माग भइरहेको छ तर त्यसका लागि कार्यविधि बनिसकेको छैन,” उनले भने।

कोरियामा थप कति जान पाउँछन् : शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा ६,९१३ र कृषि तथा पशुपालन क्षेत्रमा २,७४१ जना गरि कूल ९,६५४ जना कामदार छनौटको लागि आवेदन माग गरिएको छ।

कोरियन भाषा तथा सीप परीक्षाका लागि चैत्र १४ देखि २१ सम्म अनलाइनबाट आवेदन दर्ता गर्न सकिने र आवेदन शुल्क २४ अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ ब्याङ्कमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

कृषि र पशुपालन क्षेत्रमा आवेदन दिनेहरूका लागि वैशाख र जेठमा र उत्पादनमूलक क्षेत्रमा आवेदन दिनेहरूका लागि असार र भदौमा भाषा तथा सीप परीक्षा लिइने ईपीएस शाखाले जनाएको छ।

नेपाल र कोरियाबीच श्रम सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भाषा तथा सीप परीक्षा अनिवार्य उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था छ।

कोभिड महामारीका कारण कामदार लैजान कोरियाले २० महिना बन्द गर्दा यसअघि नै ईपीएस परीक्षा उत्तीर्ण गरेका करिब ८,००० नेपाली कामदार कोरिया जाने पर्खाइमा छन्।

महानिर्देशक पौडेलले कोरियामा होटेल क्वारेन्टिन बस्नुपर्ने मापदण्डका कारण अहिले हप्तामा १५० देखि २०० जना मात्रै गइरहेको जानकारी दिए।

दक्षिण कोरियाले कोभिड सङ्क्रमणदर कम हुँदै गएपछि गत अक्टोबरबाट नेपाली कामदारहरू लैजान पुनः सुरु गरे पनि आफ्नो देश आउने विदेशी कामदारहरूका लागि एक हप्ताको होटेल क्वारन्टिन अनिवार्य गरेको थियो।

एक हप्ता क्वारन्टिन बस्दा कामदारहरूको नेरु १५०,००० खर्च हुने गरेको छ। तर आगामी सोमवारबाट कोरियाले अनिवार्य होटेल क्वारन्टिन हटाउने तयारी अघि बढाएको बताइएको छ। महानिर्देशक पौडेलका अनुसार कोरिया जाने कामदारहरूले महिनामा १५०,००० देखि २००,००० नेपाली रुपैयाँ सम्म कमाउँछन्।

उनले लामो समयदेखि कामदार लैजाने क्रम सुस्त भएकाले कोरियाले ईपीएस उत्तीर्ण गरेका कामदारहरूलाई छोटो प्रक्रियाबाट लैजाने आश्वासन दिएको बताए। “अहिले एकदम छोटो प्रक्रियाबाट परीक्षा सकेर कामदार लैजाने भनेको छ,” उनले भने। दक्षिण कोरिया जाने कामदारले त्यहाँसम्म पुग्ने टिकटको खर्च आफैँ बेहोर्नुपर्छ।

मलेशिया पनि खुल्यो

मलेशियाले मङ्गलवारबाट कामदार लैजाने निर्णय गरेसँगै श्रम तथा रोजगार मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णयबाट त्यहाँ जान चाहने कामदारका लागि श्रम स्वीकृति दिने निर्णय गरेको छ। गत फेब्रुअरी २६ बाट मलेशिया सरकारले नयाँ नियम ल्याएर विदेशी कामदार लैजान खुला गर्ने निर्णय गरे पनि नेपाल पक्षबाट त्यसका लागि स्वीकृति दिने निर्णय भएको थिएन।

मलेशियाले मार्च १५ अर्थात् मङ्गलवारबाट कामदार लैजान प्रक्रिया पूर्ण रूपमा चालु गर्ने निर्णय गरिसकेको मन्त्रालयका सहायक प्रवक्ता थानेश्वर भुसालले जानकारी दिए।

“नेपाल र मलेशियाबीच सन् २०१९ मा श्रम सम्झौता भए पनि नेपाली कामदारलाई मलेशियामा रोजगारी पाउन सहज भएको थिएन। लगत्तै विश्वव्यापी महामारीका कारण रोकिइरहेको थियो,” भुसालले भने।

“मलेशियाबाट नेपाली नागरिकका लागि माग आएको हो भने नेपाल सरकारबाट अब कुनै पनि अवरोध छैन।” मलेशियाबाट यसअघि नै विभिन्न क्षेत्रमा माग आइसकेका कारण केही दिनभित्रै नेपाली कामदारहरू पठाउने प्रक्रिया सुरु गर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ।

कुनै समय नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य रहेको मलेशियामा सात लाखसम्म नेपाली कामदार कार्यरत रहने गरेको विभागका अधिकारीहरू बताउँछन्। विभागका महानिर्देशक पौडेलका अनुसार अहिले मलेशियामा एक लाख ५० हजारको हाराहारीमा नेपाली कामदारहरू कार्यरत छन्।

नेपालले श्रम सम्झौताका आधारमा मलेशियाबाट आएका मागका अनुसार श्रम स्वीकृति दिने गरेको छ। तर मलेशियाले कामदार लैजान रोकेपछि नेपालबाट पनि श्रम स्वीकृति दिन रोकिएको थियो। मलेशियाबाट रोजगारदाताले नेपाली कामदार लैजान उनीहरूको मागपत्र सबैभन्दा पहिले नेपाली नियोगमा प्रमाणीकरण गर्नुपर्छ।

कामको सुरक्षा र तलब तथा कम्पनीको अवस्था हेरेर नियोगले पठाएको मागपत्र वैदेशिक रोजगार विभागले जाँच गरेर श्रम स्वीकृति दिने गरेको छ। नेपालबाट कामदार लैजान मलेशियाले निःशुल्क भिसा र टिकटको व्यवस्था गर्छ।

More News last news
Loading...