गोविन्दराज जोशी भन्छन्- ‘रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ’

तनहुँ l नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उनको भनाइ छ । उनले आफू पौडेलसँग कुनै हालतमा मिल्न नसक्ने स्पष्ट पारे ।

बिपी विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै जोशीले भने, ‘तपाईहरूले रामचन्द्र पौडेल र गोविन्दराज जोशी मिल्नुपर्‍यो । तपाईहरू आपसमा लड्नुभो, एक अर्कालाई लखेट्नु भयो, झगडा गर्नु भएन भन्नुहुन्छ । त्यो भनाइले मलाई अपमानको महशुस हुन्छ । किनकी पौडेल २०१८ सालमा मात्र कांग्रेसमा आएको मान्छे हुन्।’

Advertisement

आफैँले भनेका छन् ‘त्योभन्दा पहिले वामपन्थी पार्टीमा थिएँ भनेर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नभएकोसँग तुलना हुँदा आफू अपमानित भएको ठान्छु । साथीहरुले मेरो भलो गर्नु पर्दैन । तर, रामचन्द्र र गोविन्दराज मिल्न परो भन्ने कुरा नगर्दिनु होला ।’

उनले पौडेल कांग्रेसमा फाइदा हुन्छ भनेर आएको र कांग्रेसमा पनि कहिले कता कहिले कता लाग्ने अवसरवादी चरित्रको नेता भएको टिप्पणी गरे । तनहुँमा कांग्रेस पौडेलकै कारण समाप्त भएको उनकाे आरोप छ । पौडेलले पार्टीमा भाडभैलो मच्याइरहेकाले राष्ट्रघातीको संज्ञा दिए । ‘जसले पैसा खाएर संविधानमा धर्म निरपेक्षता लेख्यो त्यो मान्छे राष्ट्रघाती नहुने हामी इमान्दार नेता कार्यकर्ता राष्ट्रघाती हुने,’ उनको आरोप छ ।

जोशीले रामचन्द्र पौडेलहरूको जालझेलका कारण आफूलाई पार्टीले कारवाही गरेको टिप्पणी पनि गरे । ‘मलाई अहिलेसम्म कारवाही भएको पत्र दिइएको छैन् । न त केन्द्रीय समितिले निर्णय गरेको छ । दुई चार जना मिलेर जुन नाटक गरिएको छ । त्यो विरुद्धको अभियानमा लागेको छु,’ उनले प्रस्ट्याए ।

नेता जोशीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकोे छ। गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई कांग्रेसको अनुशासन समितिले पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरेको हो। १० साउन २०७६ मा कारवाहीमा परेका उनले अब पार्टीले कारवाही फुकुवा गरे पनि केही अर्थ नराख्ने उल्लेख गरे।

अबको निर्वाचनमा आफु पक्षधरलाई तनहुँ कांग्रेसले नसमेटे माओवादी एमाले समाजवादी जुनसुकै पार्टीसँग तालमेल गरेर अगाडि बढ्ने जोशीकाे दाबी छ । ‘पहिलो प्राथकिमता कांग्रेससँग मिलेर जाने हो । सम्मानजनक व्यवहार नभए हामी जुनसुकै पार्टीसँग मिलेर निर्वाचन लड्नेछौँ,’ उनको चेतावनी छ।

More News last news
Loading...