‘गोरखा ब्रुअरीको बियरमा अखाद्य वस्तु भेटियो’, कम्पनीले देखायो विज्ञापनको लोभ

काठमाडौं । आम नेपाली टेलिभिजनका सञ्चालक तथा मिसन भण्डाफोरका टिम लिडर दीपेन्द्र ढकालले गोरखा ब्रुअरीले उत्पादन गर्ने बियर ‘गोरखा स्ट्रङ’ को बोटलमा अखाद्य वस्तु भेटिएको र यसबारेमा कम्पनी गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

उनले गोरखा ब्रुअरीले जनताको स्वास्थ्यमाथि ठूलो खेलबाड गरेको पनि आरोप लगाएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आम नेपाली टेलिभिजनले आयोजना गरेको पत्रकार सम्मेलनमा ढकालले आफूहरुले गोरखा ब्रुअरीको लापरवाहीको बारेमा तयार पारेको समाचारलाई लिएर कम्पनीले आर्थिक प्रलोभन देखाएको पनि अर्को गम्भीर आरोप लगाएका छन् ।

Advertisement

कार्यक्रममा वितरित विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा वर्षेनि बियरको बजार हिस्सा २० देखि ३० प्रतिशत बढ्दै गएको छ । सरकारको गतिलो राजश्व आम्दानी गर्ने क्षेत्र पनि मदिराजन्य क्षेत्र हो । प्रत्येक आर्थिक वर्षमा सरकारले यो क्षेत्रबाट ७५ अर्ब बढि राजश्व उठाउने गरेको छ । यसरी बियर खपत बढ्नुको कारण युवा पुस्ताको बियर प्रतिबढ्दो आकर्षण हो । साथै, पर्यटक आगमनमा भएको वृद्धि मुख्यकारण रहेको जानकारहरु बताउँछन् ।’

ढकालले गोरखा ब्रुअरीले ५६ प्रतिशत बजार हिस्सा ओगटेको पनि तथ्यांक पेश गरे । र, ८१ देखि ९० लाख कार्टुन बियर उत्पादनगर्ने गोरखा ब्रुअरीले जनताको स्वास्थ्यमाथि खेलबाड गरेको दाबी गरे । उनले गोरखा ब्रअुरीले आफ्नो उत्पादनमा अखाद्य वस्तु मिसाउने जस्तो गलत हर्कत मात्रै नभएर यो भन्दा पनि धेरै गल्ती गरेको कुरा मिडियामा आईरहेको सुनाए ।

उनले भने,‘तर, हामीले देखाउन खोजेको गोरखा ब्रुअरीको नयाँ कर्तुत भने होईन, नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अझै हौसला बढ्दै गएको छ, कहिले न्यायालयका न्यायमुर्ती किन्छ त कहिले कार्यालयका कर्मचारी, कहिले जनप्रतिनिधि त कहिले सांसद तथा मन्त्री नै किन्छ, बिक्नेहरु नै बिक्छन् त किन्नेको हौसला नबढेर के बढोस त ? अब हामी त्यसो हुन दिँदैनौं, नेपाली जनताको स्वास्थ्य माथि खेलबाड गर्ने उत्पादन कम्पनी बन्द गराएरै छोड्छौं । यो हाम्रो प्रतिबद्धता र संकल्प हो ।’

गोरखा ब्रुअरीको कारण उच्च अदालत पोखराका न्यायाधीशहरु जीवनहरि आचार्य र नरबहादुर शाहीले जागिरबाट हात धुनुपरेको पनि उनले स्मरण गराए । गोरखा ब्रुअरीले आयकर र मूल्य अभिवृद्धि समेत लिने गरेको कुरा प्रमाणित भैसकेको उनको भनाई छ ।

उनले कहिले बियरमा जौको मात्रा ५० प्रतिशत राख्नुपर्नेमा गोरखा ब्रअुरीले कनिका राखेर बियर बनाउने गरेको पाईएको स्मरण गराउँदै अहिले भने आफ्नो उत्पादन ‘गोरखा स्ट्रङ’ बियरको बोटलमा अखाद्य वस्तु ‘प्लास्टिक’ भेटिएको भिडिओसमेत सार्वजनिक गरेका छन् ।

उनले बाराको निजगढमा रहेको श्री शुभम् गेष्ट हाउस एण्ड होटलमा उक्त बियरमा अखाद्य वस्तु भेटिएको र सोबारे ब्रुअरीको मधेश प्रमुखमा रहेको कार्यालय प्रमुखलाई जानकारी गराईएको स्मरण गराए ।उनले भने, ‘हामीले त ब्रुअरीको हेड अफिसमा पनि फोन गरेका थियौं, तर रेस्पोन्स भएन । जनताको स्वास्थ्य माथि खेलबाड गर्ने यस्ता कम्पनीलाई कारबाही गर्नुपर्छ । यो त धेरै लापरवाही भयो ।

हामीले अब आईन्दा जनताको स्वास्थ्य प्रति खेलबाड नहोस भनेर नै यो विषयमा आम जनतासामू भण्डाफोर गरेका हौं, हामी नेपाली जनताको स्वास्थ्य माथि खेलबाड गर्ने बियर उत्पादक कम्पनी बन्द गराएर नै छोड्ने छैनौं । हामी यो मुद्दा लिएर सर्वोच्च अदालत पनि जानेछौं । विज्ञापनको प्रलोभन पनि दिईयो । हामी आजपत्रकार सम्मेलन मात्रै गरेर चुप लागेर बस्दैनौं । निरन्तर फलोअप गरिरहन्छौं ।’

कार्यक्रममा आम नेपाली टेलिभिजनका अध्यक्ष राजकुमार हुमागाँईले पनि यस्तो विकृति र विसंगतिको विरुद्धमा सबै मिडियाकर्मीहरुले हातमा हात र काँधमा काँध मिलाउनुपर्ने बताए । र, गल्ती गर्नेजो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।

उनले भने,‘गोरखा ब्रुअरीको कर्तुत बाहिर ल्याईएको छ। ठूलो कम्पनीको कुर्तत र उनीहरुसँग मुकाविला गर्न सबैको साथ र समर्थन चाहिन्छ । त्यही भएर पत्रकार सम्मेलन गरेको हो । म तपाईँहरुलाई आग्रह गर्न चाहन्छु,  l खाद्य पर्दाथमा अखाद्य वस्तुको मिसावाट रोक्नुपर्छ । यसको लागि नियमनकारी निकायले तदारुकता देखाउनुपर्छ । गलत गर्ने कम्पनीहरुलाई कारबाही गर्नुपर्छ । हामी न्यायको लागि अदालतसम्म पनि पुग्नेछौं ।’

More News last news
Loading...