काठमाडौं l बुद्ध एयरबाट काठमाडौं प्रस्थान गर्न लागेकी कालिकोटकी एक महिलालाई नेपालगन्ज विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरी चेकजाँचको क्रममा मंगलबार ती महिला सय ग्राम चरेससहित पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार कालिकोटबाट नेपालगन्ज आएर काठमाडौं जान लागेकी ती महिलालाई जाँच गर्दा उनको साथबाट चरेस फेला परेको हो ।
ती महिलाले औषधिका लागि लैजान लागेको बताए पनि महिला र बरामद गरिएको पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौंको कपनबाट दुई जना ब्राउन सुगरसहित पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले सोमबार अपरान्ह साढे ५ बजे बूढानीलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोकबाट दुई जनालाई पक्राउ गरेको हो।
धनकुटा घर भई बूढानीलकण्ठ-११ गैरीगाउँ बस्ने २९ वर्षीया रेनुका तामाङ र धनुषा घर भई बूढानीलकण्ठ एकताबस्ती बस्ने २१ वर्षीया लक्ष्मी लामा पक्राउ परेकी हुन्।
गोप्य सूचनाको आधारमा प्रभागबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले सानो-सानो पोका बनाएर भित्र लागुऔषध ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको हो।
प्रभागका अनुसार १०.९३ ग्राम ब्राउन सुगर फेला परेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
