बाँके । नेपालगञ्ज नाकामा एकैदिन नौ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन्। साउनयता एकैदिन यतिका धेरै संक्रमित पुष्टि भएको पहिलो घटना हो।
भारतमा ओमिक्रोनका संक्रमित बढ्दै जाँदा त्यसको असर नेपालमा देखा पर्न थालेको छ । नेपालगञ्ज नाकामा कोरोना पुष्टि भएका व्यक्तिमा ओमिक्रोन छ कि छैन भन्ने बुझ्न सबैको स्याम्पल संकलन गरिएको छ । त्यो स्याम्पललाई काठमाडौं पठाउने तयारी भएको छ।
नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका ३सय ७ जनाको जाँच गर्दा ९ जनामा कोरोना पुष्टि भएको छ। ९ जनामा ७ पुरुष र २ महिला रहेका छन्। भारतको हरिद्वारबाट आएका कालिकोटका ४ जना, दिल्लीबाट आएका दाङका ३ जना, महाराष्ट्र र दिल्लीबाट आएका बाँकेका २ जनामा कोरोना पुष्टि भएको हो।
भारतमा ओमिक्रोनको संक्रमित ह्वात्तै बढेपछि नेपालगञ्ज नाकामा फेरि सतर्कता अपनाएर जाँचलाई बढाइएको हो । हुन त नेपालगञ्ज नाकाबाट गत चैत्रदेखि नै कोरोना जाँच हुँदै आएको छ । बीचमा अलि खुकुलो पारिए पनि भारतमा संक्रमित बढ्दै गएपछि फेरि कडाइ गरिएको छ ।
आइतबार दुई जनाको जाँच गर्दा एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसअघि, पुस ७ गते एक जनामा कोरोना पुष्टि भएको थियो । ल्याब टेक्निसियन ज्ञवालीले साउनयता नै एकैदिन यतिका धेरै मानिसमा कोरोना देखिएको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
