नेपालीहरुको महान चाड दसैंको मुख्य दिन आज बिजया दशमीको अबसरमा मान्यजनहरुबाट टीका ग्रहण गरी आशिर्बाद लिने क्रम सुरु भएको छ । बैद्धिक मन्त्र उच्चारण गरी मान्यजनको हातबाट टीका र जमरा लगााएपछि मनले चिताएको पुग्ने, सुख, शान्ति र सम्बृद्धि प्राप्त हुने बिस्वास गरिन्छ ।
दशैको अघिल्ला दिनहरुमा आफन्तसँगै बस्न नपाएकाहरु पनि टीकाको दिन साईतमै टीका र जमरा थाप्न पुग्ने गर्छन् । मान्यजनहरुबाट टीका ग्रहण गर्ने क्रम कोजाग्रत पुर्णिमासम्म जारी रहन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँने परम्परा सदियौदेखि चलिआएको छ ।
राससका अनुसार नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर २ मिनेटको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।
आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।
दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
