पोखरा । नेपाली काँग्रेस कास्की, रुपा गाउँपालिकाको नेतृत्वमा विमल बाबू न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
काँग्रेसको १४ औँ अधिवेशन अन्तर्गत आज भएको गाउँपालिकाको अधिवेशनबाट सर्वसम्मतरुपमा सभापतिसहित ३७ सदसीय पूरै कार्यसमिति चयन भएको हो।
अधिवेशनबाट उपसभापतिमा बुद्धि बहादुर खड्का र गेस बहादुर गुरुङ, सचिवमा शंकरलाल श्रेष्ठ, सह-सचिवमा निर्मल केसी र विकल ओझा तथा कोषाध्यक्षमा रबिराज घिमिरे चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष न्यौपानेले रुपा गाउँपालिकाले सर्वसम्मत रुपमा पार्टीको समिति गठन गरेको र आगामी दिनमा पनि यसरी नै सहकार्य र सहमतिमा एकताबद्ध भएर पार्टी अभियान चलाउने बताए।
नयाँ पुस्तासँग कुरा गर्दै न्यौपानेले भने “हामी सर्बसम्मत समिति गठन गरेर अगाडि बढेका छौँ । पार्टीमा हामी एक छौँ र रहनेछौँ। विभिन्न कारणले यसअघिका निर्वाचनमा हामी गणितीय रुपमा थोरै कमजोर देखिए पनि आगामी दिनमा हामी गाउँपालिकाको र समग्र यस क्षेत्रकै चुनावी परिणाम आफ्नै पार्टीको पक्षमा आउनेगरी अगाडि बढ्छौ ।”
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आज (शनिबार) देखि गाउँ–नगर अधिवेशन प्रारम्भ भएको हो । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।
सङ्घीय राजधानी काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौँका सबै नगर र महानगरको अधिवेशन असोज १६ गतेका लागि तय भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
